बुटवल,२३ पुस ।
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित “मेयर युवा राेजगार प्रवर्द्धन कार्यक्रम” अन्तर्गत ४५ दिने एडभान्स ब्युटिसियन तालिम समापन भएको छ ।
नेशनल एस्थेटिक ट्रेनिङ एकेडेमी बुटवलसँगकाे सहकार्यमा सञ्चालित एडभान्स तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
तालिम समापनका क्रममा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नगरवासीहरूलाई सीपसँग जाेडेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आएको भन्दै युवा युवतीहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउनुका साथै सीप मार्फत आत्मनिर्भर बनाउने उदेश्यले “मेयर युवा राेरागार प्रवर्द्धन कार्यक्रम” सञ्चालन गरिएको जानकारी गराए ।
ब्युटिसियन तालिम साैन्दर्यकला मात्रै नभएर छाला र राैंकाे हेरचाह गर्ने केन्द्रकाे रूपमा पनि विकास हुँदै गएको भन्दै नगर प्रमुख पाण्डेयले सीप अनुसारको ब्यवसाय गरेर आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमख सावित्रा देवी अर्यालले युवाहरूलाई राेजगारीका लागि विदेश जान नपरोस् र घरमा बस्ने गृहिणी महिलाहरूलाई पनि खाली बस्न नपराेस भन्ने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गरेको जनाउँदै सीप अनुसारको ब्यवसायमा लागेर आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई सुझाव दिइन् ।
साे अवसरमा नेशनल एस्थेटिक ट्रेनिङ एकेडेमी बुटवलकी सञ्चालक तथा प्रशिक्षक विष्णु थापाले बेसिक र एडभान्स तालिमले मात्रै सफल उद्यमी बन्न नसकिने भन्दै प्रविधिको विकास र बजारको मागलाई ध्यान दिएर साेही अनुसारको सेवा प्रदान गर्नु अहिलेकाे आवश्यकता भएको बताइन् ।
बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरू सारदा जाेशी,सुरक्षा आचार्य, शाेभा थापा मगरले तालिमबाट धेरै कुराकाे ज्ञान प्राप्त भएको भन्दै तालिमले आफुहरूलाई उत्साहित बनाएको बताए ।
४५ दिने तालिममा जनप्रतिनिधि माया परियारसहित ३० जना युवतीहरूकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका राेजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षार्थी आयुशा थापा बुढाथोकीलाई उत्कृष्ट प्रशिक्षार्थीकाे रूपमा पुरस्कृत गरिएको थियो ।

