बुटवल,२१ फागुन ।
फजुल खर्च कटौती गरी जम्मा गरेको रकम पुस्तकालय र मानव सेवा आश्रमलाई बुटवल स्थित अक्सफोर्ड माविका साना विद्यार्थीहरूले जन्मदिनको अवसरमा हस्तान्तरण गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ मा अवस्थित ज्ञानज्याेती पुस्तकालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयका प्रधानाध्यापक दिनेश भुसालले पुस्तकालयका ब्यवस्थापक प्रकाश सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रधानाध्यापक भुसालले विद्यालयले गतबर्षदेखि जन्मदिनको अवसरमा पश्चिमा संस्कृतिकाे अनुसरण गर्दै केक काट्ने र होटल रेष्टुरेन्टमा गएर गरिने फजुल खर्च राेकेर उक्त रकम सामाजिक कार्यमा लगाउने योजना अनुसार पुस्तकालय र मानव सेवा आश्रममा सहयोग गरिएको जानकारी गराए ।
पछिल्लो समय पठन संस्कृतिमा कमि आइरहेको भन्दै उनलेे पठन संस्कृतिकाे विकासका लागि विद्यालयले बालबालिका र अभिभावकहरूलाई पुस्तकालयसँग जाेड्ने अभियान चलाएको बताए ।
उनलेे जन्मदिनकाे अवसरमा खर्च हुने रकम खर्च नगरी विद्यार्थी र अभिभावककाे सहमतिमा विद्यालयकाे छुट्टै काेषमा जम्मा गर्ने
गरिएको भन्दै उनलेे साेही रकमबाट यसपटक पुस्तकालयलाई नगद २० हजार र मानव सेवा आश्रमलाई २० हजार सहयोग गरिएको जानकारी गराए । संस्कारसहितकाे सीपमूलक शिक्षा अहिले आवश्यकता रहेको भन्दै उनलेे बुटवललाई सफा र स्वच्छ राख्न महिनामा एक दिन विद्यालयले बुटवल बजार सरसफाइ गर्न तयार रहेको उल्लेख गरे ।
त्यस अवसरमा पुस्तकालयका ब्यवस्थापक सुवेदीले २०४३ सालमा स्थापित पुस्तकालय नितान्त सामुदायिक र सार्वजनिक पुस्तकालय भएको बताउदै विद्यालयका साना बालबालिकाले आफ्नो जन्मदिन नमनाई बचत गरेको रकम पुस्तकालयलाई सहयोग गर्नु अनुकरणीय कार्य भएको धारणा राखे ।
उनलेे विद्यालयका विद्यार्थी,शिक्षक तथा अभिभावकहरू समय मिलाएर पुस्तकालयमा आई आवश्यक ज्ञान हाशील गर्न आग्रह समेत गरे ।

