बुटवल,२७ माघ ।
बुटवल उपमहानगरपालिका वडा नं-३ ज्योतिनगरस्थित भिमसन नेवा:समाज तथा भिमशेन नेवा: मयजु समाजको आयोजनामा आज भिमसेन रथयात्रा सम्पन्न भएको छ ।
धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको रथयात्रा विशेष पूजासहित ज्योतिनगर समाजको भवनबाट सुरु भई नगर परिक्रमा गर्दै समापन भएको हो । बाजागाजा सहित बुटवल बहुमुखी क्याम्पस रोड, ट्राफिक चोक, राम मन्दिर, अमरपथ, पुलचोक, गोलपार्क हुँदै पुन: भिमसेन सेवा समाजमा रथयात्रा सम्पन्न भएको थियो ।
यसअघि भएको कार्यक्रममा सहभागी अतिथिहरूले नेवार संस्कृति, परम्परा, भाषा र मौलिकता जोगाइराख्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले नेवा: संस्कृति, सामाजिक एकता, परम्परा, रीतिथीको संरक्षण गर्न जरुरी रहेको भन्दै नेवा: सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्नेमा जाेड दिए । भाषा, लिपि तथा सांस्कृतिक पहिचान जोगाउन स्थानीय सरकारदेखि संघीय सरकारसम्मको पहल आवश्यक रहेको उनको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले भिमसेन यात्रा नेवार समुदायका लागि मात्र नभई सम्पूर्ण बुटवलवासीका लागि ऐतिहासिक तथा सांस्कृतिक महत्वको रहेको उल्लेख गर्दै पुरातात्विक कला तथा मौलिकता जोगाउन समुदायनै लाग्नुपर्ने बताए ।
आफुहरू निर्वाचित भएपछि बुटवल उपमहानगरपालिकाले सबै जातजाति भारषाभाषि तथा समुदायको समान अस्तित्व कायम गर्ने योजना अगाडि सारेको भन्दै उनलेे नेवार समुदायको संरक्षण हुँदा धार्मिक संस्कार र संस्कृतिको संरक्षण हुने बिचार ब्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा देवी अर्यालले महिलाहरूलाई समाजमा पछाडि पारिएको यथार्थ बदल्न संस्कृति र परम्पराको संरक्षणसँगै समान अवसरको सुनिश्चितता आवश्यक रहेको बताइन् ।
पूर्व उपमेयर विमल बहादुर शाक्यले भिमसेन रथयात्राको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्दै यसको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
नेवा समाजका अध्यक्ष शहदेव श्रेष्ठले हाम्रा पुर्खाले सुरु गरेको जात्रालाई निरन्तरता दिनु हाम्रो जिम्मेवारी भएको बताउँदै नेवार संस्कृतिलाई जातीय रूपमा नभई सभ्यताको रूपमा विकास गर्दै प्रवर्द्धन गर्नुपर्ने धारणा राखे ।
नेवा: समाजका निर्वतमान अध्यक्ष लिला प्रसाद श्रेष्ठले भविष्यका पुस्ताले पनि संस्कृति जोगाउन भूमिका खेल्नुपर्ने बताए ।
भिमसेनलाई व्यापार, उद्योग तथा समृद्धिको देवता मानिन्छ । हिन्दू धर्मअनुसार भिम महाभारतका पाँच पाण्डवमध्येका एक पराक्रमी योद्धा हुन् । नेवार समुदायमा भिमसेनलाई विशेष रूपमा सम्मान गरिन्छ, जसका लागि विभिन्न स्थानमा उनका मन्दिरहरू स्थापना गरिएका छन् । व्यापारिक उन्नति, शक्ति, समृद्धि र कल्याणको प्रतीक मानिने भिमसेनको पूजा विशेष गरी व्यवसायी तथा व्यापारी समुदायले गर्छन् । भिमसेन जात्रा नेवार समुदायको परम्परागत संस्कृति, मौलिकता र पहिचानसँग गहिरो रूपमा जोडिएको छ । हरेक वर्ष विशेष महत्वका साथ मनाइने यस जात्राले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सांस्कृतिक प्रवर्द्धनलाई समेत मजबुत बनाएको छ ।
भिमसेन जात्रालाई अझ विशेष महत्व दिने अर्को पक्ष भनेको एकादशीका दिन बसिने व्रत हो । धार्मिक मान्यताअनुसार एकादशी व्रत बसेर भिमसेनको पूजा गर्दा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । व्यापारी तथा व्यवसायी वर्गले विशेषगरी यो दिन व्रत बसी भिमसेनको पूजा गर्दछन्, जसले व्यापार-व्यवसायमा प्रगति, परिवारमा सुख-शान्ति र समाजमा समृद्धि ल्याउने जनविश्वास रहेको छ ।
रथयात्रापछि नेवा: भोजको आयोजना गरिएको थियो, जसमा सहभागीहरूले नेवारी परिकारको स्वाद लिएका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने महासचिव विष्णु प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बुटवल-३ का वडा अध्यक्ष विष्णु ढकाल, विभिन्न जनप्रतिनिधिहरू, नेवा: समुदायका अग्रजहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

